उपत्यकामा ३१ सहित २४६ जनामा सङ्क्रमण, कुल २० हजार ३३२

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा थप २४६ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन्  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसका कुल सङ्क्रमितको संख्या २० हजार ३३२ पुगेको बताउनुभयो । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १११ जना कोरोनामुक्त भएर घर फर्केका छन् ।

काठमाडौं उपत्यकामा आज थप ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा २२, ललितपुरमा आठ र भक्तपुरमा एकजनालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यसैबीच, राससका अनुसार कोभिड–१९ बाट सङ्क्रमण मुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या १११ रहेको छ । योसँगै १४ हजार ६०३ सङ्क्रमित कोरोनामुक्त भएर घर फर्किएका छन् । हाल क्वारेन्टिनमा १० हजार ९३४ जना रहेका छन् । सङ्क्रमितमध्ये ७२ प्रतिशत निको भएको र मृत्यु हुनेमा ०.२८ प्रतिशत रहेको छ ।

पर्सामा शनिबार साँझ ६८ वर्षकी एक महिलाको निधन भएको छ । मधुमेहको बिरामी उक्त महिलामा यही साउन १६ गते कोरोना पुष्टि भएको हो । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५७ जना पुगेको छ ।

मन्त्रालयका अनुसार रौटहट र कैलाली जिल्लामा पाँच हजारभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ भने भोजपुर, सङ्खवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी पाँच वटा जिल्ला कोरोना सङ्क्रमण शून्य रहेको छ । प्रवक्ता डा गौतमले ६० वर्षमाथिका र १२ वर्षमुनिका बालबालिकालाई घरबाट ननिस्कन आग्रह गर्नुभएको छ ।

उहाँले सरकारले यही साउन १४ गते कोभिड–१९ का विषयमा गरेको निर्णयअनुसार आरडिटी परीक्षण नगर्ने निर्णय भएको हँुदा केन्द्र तथा प्रदेश सरकार सबैले उक्त निर्णयको पालना गर्न आग्रह गर्नुभयो । मन्त्रालयका अनुसार उपत्यका छिर्ने नाकाहरु नागढुङगा, फर्पिङ र साँगाबाट यही साउन १० गतेदेखि १३ गतेसम्म सङ्कलन भएको १० हजार ८२७ नमूना परीक्षण भइरहेको छ । मास्क, सेनिटाइजर प्रयोग गरी सुरक्षित रहन प्रवक्ता डा गौतमको आग्रह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *