कुवेतमा अलपत्र थप १५० नेपाली काठमाडौं आउँदै

कुवेतमा अलपत्र परेका थप  एक सय पचास नेपाली आज (शुक्रबार) काठमाडौं आउँदै छन् ।

विदेशबाट आउने नागरिकको व्यवस्थापनमा सेना खटिइरहेका एक सैनिक अधिकृतले आज थप १५० नेपाली बोकेको विमान कुवेतबाट उडिसकेको छ । उनले स्वदेश फर्किएका नेपाली ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने जानकारी दिए ।

बिहीबार ५ सय ३१ जना महिलालाई काठमाडौं ल्याएको सरकारले प्राथमिकताका आधारमा शुक्रबार पुनः १५० जनालाई ल्याउन लागेको हो ।विमानस्थलबाट साझा यातायातको बसमा राखेर उनीहरुलाई उपत्यकामा तयार गरिएको होल्डिङ सेन्टरमा लगिनेछ । बिहीबार ल्याइएका ५३१ जनामध्ये दुई जना गर्भवती महिला छन् ।

उनीहरुमध्ये सम्बन्धित प्रदेशमा जान नसक्ने ४९ जनालाई छहारी होममा राखिएको छ भने १० जनालाई कोहिनुर होटलमा राखिएको छ । कोहिनुरको व्यवस्थापन स्वरोजगार महिला संघले गरेको हो ।

अन्य सबै महिला सम्बन्धित प्रदेशतर्फ पठाइएका छन् । त्यहाँ उनीहरुले १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *