जाजरकोटका ६ युवाको मृत्यु कुटपिटबाट नै भएको इन्सेकको दाबी

गत  जेठ १० गते रुकुम  पश्चिमको चौरजहारी, सोतीमा भयको घटना मा नवराज बिक सहितका ६ युवाको मृत्यु स्थानीयको कुटपिटबाट भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले दाबी गरेको छ ।

घट्नाबारे  इन्सेकको प्रारम्भिक प्रतिवेदनले घटना नियोजित भएको उल्लेख गरेको छ । त्यहाँ को  स्थलगत प्रारम्भिक अनुगमन प्रतिवेदनका अनुसार त्यहाँ का स्थानीयहरूले हँसिया, कुटो र दाउरा बोकेर लखटेर भेरी नदीको किनारमा पु-याई तीनिहरु  माथि हतियार प्रयोग गरी आक्रमण गरेको र सोहि  कुटपिटबाट युवाहरूको मृत्यु भएको उल्लेख गरेको छ ।भेरी नदीमा फेला परेका शवको प्रकृति हेर्दा पेट नफुलेको, पानी नखाएको, शरीर नसुन्निएको अवस्थामा थिए तथा  घटनामा दोहोरो भिडन्त वा प्रतिकार नभयको पनि  प्रतिवेदनको तथ्य खण्डमा उल्लेख रहेको छ ।

इन्सेकले ‘घटनामा संलग्न सबै आरोपीहरूलाई गिरफ्तार गरी विद्यमान कानुनी प्रक्रियाअनुसार गहन अनुसन्धान गरी फौजदारी अपराधअन्र्तगत् सजाय गर्नुपर्ने’ सुझाव दिएको छ । घटनाका पीडित परिवारको सामाजिक सुरक्षाको प्रत्याभूतिका लागि राज्यको उपस्थिति र प्रभावकारी कार्यक्रम आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।

घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय सर्वदलीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने, घटना र घटनास्थलमा उपलब्ध प्राथमिक प्रमाण जोगाउन प्रहरी प्रशासनलाई जिम्मेवार बनाउनुपर्ने उसको सुझाव छ । जातीय भेदभाव तथा छुवाछुतजन्य कार्यहरूलाई उच्च प्राथमिकताका साथ कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने प्रतिवेदनको निष्कर्ष छ ।

इन्सेकले जेठ १३, १४ र १५ गतेको स्थलगत अध्ययनका लागि टोली पठाएको थियो । रुकुम, चौरजहारी नगरपालिका–८ सोती, घटनास्थल बन्चरे, जाजरकोट जिल्ला भेरी नगरपालिका–४ रानागाउँ, भेरी नगरपालिका–११ मटेला, चौरजहारी नगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय रुकुम (पश्चिम) र जिल्ला प्रहरी कार्यालय, रुकुम (पश्चिम)को स्थलगत अध्ययन र अनुगमन गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार मनीषा केसी (जिल्ला प्रतिनिधि, इन्सेक रुकुम), नारायणकुमार शाह (अध्यक्ष, गैसस महासङ्घ, रुकुम), एक्कबहादुर पाण्डे (अध्यक्ष, जिल्ला बार इकाइ, रुकुम), सुनिता बुढा मगर (अध्यक्ष, हरप्लेस नेपाल, रुकुम), नरबहादुर नेपाली (अध्यक्ष, रुकुमेली समाज विकास केन्द्र, रुकुम) अध्ययन टोलीमा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *