युएई र म्यान्मारबाट नागरिकहरुको गरियो उद्धार

सरकारले संयुक्त अरब इमिरेट्स (युएई)बाट एक शवसहित १ सय ६८ नागरिक र म्यान्मार बाट २६ जना नागरिकहरु को उद्धार गरेको छ ।

कोभिड–१९ को विश्वव्यापी संक्रमण का  कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपालीलाई फर्काउने क्रममा रोकिएका १६८नेपालीलाई स्वदेश फिर्ता ल्याइएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक तथा प्रवक्ता देवचन्द्रलाल कर्णले उनीहरु एयर अरेबियाको एविवाई १७५१ नम्बरको जहाजमार्फत आज साँझ ६:०० बजे काठमाडौँ अवतरण गरेको जानकारी दिए । जहाजमा एउटा शवसमेत ल्याइएको छ ।

आजै बिहान म्यानमारबाट पनि २६ जना नेपालीको उद्दार भएको छ । उनीहरुलाई लिएर म्यानमारको सेनाको विशेष विमान काठमाडौं आएको थियो । म्यानमारबाट आएकालाई वसुन्धारास्थित यती पार्टी प्यालेसको होल्डिङ सेन्टरमा राखिएको थियो ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) को समन्वयमा प्रभावित भएका नेपालीलाई प्राथमिकताका आधारमा नेपाल ल्याउन थालिएको हो । उनीहरुको आवश्यक व्यवस्थापन सिसीएमसीको निर्णयअनुसार हुन्छ । आज युएईबाट आएकामा प्रदेश नं १ का ४६, प्रदेश नं २ का २३, वाग्मती प्रदेशका ३७, गण्डकी प्रदेशका २३, प्रदेश नं ५ का २३, कर्णाली प्रदेशका चार र सुदूरपश्चिम प्रदेशका १२ जना रहेका छन् ।

उनीहरुलाई उपत्यकाको तोकिएको होल्डिङ सेन्टरमा लगिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । सरकारले काठमाडौँको यती पार्टी प्यालेस वसुन्धरा, स्काईजन पार्टी प्यालेस सुकेधारा र कुण्डलिनी पार्टी प्यालेस वसुन्धारालाई होल्डिङ सेन्टर बनाएको छ ।

जगेडाका रुपमा मिराकल पार्टी प्यालेस सुकेधारालाई तयारी अवस्थामा राखिएको छ । काठमाडौँमा रहेका होल्डिङ सेन्टरमा वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का नागरिकलाई छुट्टाछुट्टै रुपमा राखिनेछ । भक्तपुरमा एक हजार क्षमताका दुई पार्टी प्यालेसलाई होल्डिङ सेन्टर बनाइएको छ ।जसमा सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पेरियर बैंक्वेट र मध्यपुरथिमि नगरपालिका–४ स्थित हेरिटेज बैंक्वेट रहेको छ । यहाँ प्रदेश नं १ र २ का नागरिकलाई छुट्टाछुट्टै रुपमा राखिने छ । ललितपुरमा ९०० जनाका लागि डिलाईट पार्टी भेन्यू महाक्ष्मीस्थान र मण्डला पार्टी भेन्यू खरिबोट ग्वार्काेमा होल्डिङ सेन्टर बनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *