मुक्तक:-१
मेरो देशको सिमानामा बैरीको पाईला पर्यो भने
मेरो देशको स्वाभिमानमा शत्रुले आँखा तर्यो भने
सिरुपाते खुकुरीले च्वाट्ट गर्धन छिनाली दिने छु
यो देशलाई बिभाजन गर्ने काम कसैले गर्यो भने
मुक्तक:-२
जिन्दगी यो चलखेल रैछ खेल्नेले छलेर गएछ्न
जसले कहिल्यै जितेन ऊनीहरु बलेर गएछ्न
मौसम जस्तै रैछ समय हैसियत नभएकालाई
घडी बनेको थियो फाईदा उठाई चलेर गएछ्न
मुक्तक:-३
कहाँ छ्न वीर गोर्खाली,बीरता पुन: चाहिएको छ
तयार हुनु देशको लागि तातो खून चाहिएको छ
हाम्रो रास्ट्रीयता माथी पराईले धावा बोल्दै छ रे
त्यसलाई परास्त गर्न लाखौं अर्जुन चाहिएको छ
मुक्तक:-४
भागबण्डा लगाई देउ, मेरो भागमा डर कति पर्छ?
बालबच्चाको लागि कापीकलम किन्न, सर कति पर्छ?
अभाबै अभाब, हिजो देखि घरमा चुल्हो बलेको छैन
सरकार आत्महत्या गरेर मर्न मृत्यु कर कति पर्छ?
मुक्तक:-५
तिम्रो मेरो सम्बन्धमा आगो लाए लाउन्
जोरिपारी जम्मा गरि गीत गाए गाउन्
तिम्रो हाम्रो माया नचुडिने डोरि बनोस्
ईर्श्या गर्ने ईर्श्यालुले खुशी पाए पाउन्
--एच.के.धिताल
टोखा-१,झोर,काठमाडौ