रुकुम घटनाका दोषीलाई कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन

पश्चिम रुकुमको चौरजहारीमा दलित युवाको हत्या भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ ।

घटनाको निष्पक्ष छानबिनको माग गर्दै मंगलबार दलित अधिकारकर्मी र विभिन्न क्षेत्रका व्यक्तिहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा नेपाली कांग्रेसका पूर्व सांसद राजिवविक्रम शाही र दलित आयोगका पूर्व सदस्य मञ्जित ताम्राकार लगायतको उपस्थिति रहेको थियो ।
अहिलेको २१ औं शताब्दीमा पनि जातीय विभेदका नाममा हुने यस्ता अमानवीय घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने माग उनीहरुले गरेका छन् । दलित आयोगका पूर्व अध्यक्ष ताम्राकारले मृतकलाई शहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिलाउनुपर्ने र पीडकलाई कडा कारवाही गर्नुपर्ने बताए ।
पूर्व सांसद राजीव विक्रम शाहीले राज्यका हरेक निकायमा सम्पूर्ण जातजातिको समान सहभागिता हुनेगरी संविधानमा उल्लेख भएपनि अझै समुदायस्तरमा चेतनाको कमिका यस्ता घटनाहरु हुने गरेको बताए ।
ग्रामिण क्षेत्रमा जातीय विभेद विरुद्धका अभियानहरू सरकारले सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरे ।

शनिबार पश्चिम रुकुममा प्रेमिकासँग विवाह गर्न साथीसहित आएका जाजरकोट भेरी नगरपालिकाका नवराज विक सहित ३ जनाको केटी पक्षको आक्रमणबाट जोगिन नदीमा हाम फाल्दा मृत्यु भएको छ । तीन जना बेपत्ता छन् भने १२ जना घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *