झापामा नेपाली सुरक्षाकर्मीमाथि भारतीयकाे पाँचाैं आक्रमण

कोरोना भाइरसको उच्च जोखिममा रहेको दक्षिणी झापाको कचनकवलमा फेरि भारतीय नागरिकले सीमामा तैनाथ सुरक्षाकर्मीमाथि आक्रमण गरेका छन्। नेपाली भूमिमा प्रवेश गरेका भारतीय नागरिकलाई सीमा तैनाथ सशस्त्र प्रहरीले रोक्न खोज्दा उनीहरूले आक्रमण गरेका हुन्। भारतीय नागरिकले सशस्त्र प्रहरी हवल्दार शंकर चौधरीलाई कुटपिट गरेका छन्। कचनकवल गाउँपालिका– १ घेराबारीस्थित समरभिट्टा बस्तीदेखि पूर्वमा रहेको १२२ नम्बर पिलर नजिकै सशस्त्रको अस्थायी पोस्टमा राखिएको छ। पोस्टमा सशस्त्रका हवल्दार चौधरीसहित पाँच जना खटिएका थिए । पारि भारतीय बस्ती गिलावारी पर्छ। त्यहाँका ५/७ जना भारतीय नागरिक शुक्रबार बिहान साढे ९ बजे नेपाली भूमिमै आएर घाँस काटेर फर्किन लाग्दा सशस्त्र प्रहरीले सीमामै रोकेर उनीहरूलाई नेपाल प्रवेश नगर्नू भनी सम्झाउन खोजेका थिए। किन सम्झाएको भन्दै भारतीय नागरिकले सशस्त्र प्रहरीलाई गालीगलाैज गर्दै एक्कासि बाँसको भाटाले सशस्त्रका हवल्दार चौधरीको टाउकोमा प्रहार गरेका थिए। सोही क्रममा दुवै पक्षबीच सामान्य झडप भएकाे थियाे। पछि थप ५० देखि ६० जना भारतीय नागरिकको हुल आएर आक्रमण गरेका गाउँपालिका ३ नम्बर वडा अध्यक्ष विजय राजवंशीले जानकारी दिए। उनका अनुसार भारतीय नागरिकले सशस्त्रका हवल्दार चौधरीलाई बाँसले प्रहार गरी कुटपिट गर्दा उनको हात र टाउकोमा चोट लागेको छ। ‘भारतीय नागरिकले फेरि सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि तीन सय बढी नेपाली नागरिक प्रतिकार गर्न सीमामा पुगेका थियो,’ उनले भने, ‘हामी सीमा पुगेपछि भारतीय नागरिक त्यहाँबाट भागेका थिए। आज पनि सीमा ठूलो घटना हुन पाएन, घटना हुने बित्तिकै थप नेपाली सुरक्षाकर्मी घटनास्थल पुग्नुका साथै भारतीय एसएसबी पनि आइपुगेका थिए।’ घटनापश्चात् नेपाल र भारत दुवै देशका सुरक्षाकर्मी, जनप्रतिनिधिसहितको दशगजामा बैठक बसी आइन्दा फेरि यस्तो घटना नदोहोरिने भारतीय पक्षले प्रतिबद्धता जनाएको वडाध्यक्ष राजवंशीले बताए। जेठ ३ गते बेलुका पनि गाउँपालिका १ घेरावारीस्थित १२५/१० नम्बर पिलरको सुरिभिट्टा—झण्टुबस्ती नजिकैको अस्थायी सशस्त्र प्रहरीको पोस्टमा भारतीय नागरिकको जत्थाले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका थिए। भारतीय नागरिककाे आक्रमणपछि गाउँवासीसहित सशस्त्र प्रहरी प्रतिकार उत्रिएका थिए। आक्रमणबाट बच्न सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायरसमेत गरेकाे थियाे। यसअघि पनि कचनकवलको घेरावारिको चमारभिट्टा र केचनाको खुट्टामनि सीमामा पनि सशस्त्र तथा नेपाल प्रहरीमाथि भारतीय नागरिकले आक्रमण प्रयास गरिसकेका छन्। कचनकवलमा भारतबाट आएका ३३ जना नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टि भएपछि अहिले गाउँपालिका उच्च जोखिममा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *