सिन्धुपाल्चोकबाट धुलिखेल आएका ५० भारतीय नागरिक नियन्त्रणमा

सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुलिखेल आएका ५० भारतीय नागरिकलाई  जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आज बिहान नियन्त्रणमा लिएको छ ।

सिन्धुपाल्चोकको जल्केनीबाट आज बिहान कन्टेनर भ्यानबाट धुलिखेल आएका भारतीय नागरिकलाई सूचना पाएलगत्तै सुरक्षाकर्मीद्वारा नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए ।

उनका अनुसार ती भारतीय नागरिक जल्केनीमा विद्युत् प्रसारण लाइनमा काम गर्ने मजदुर हुन् । आज बिहान करिब ८ बजे जिल्ला सदरमुकाम धुलिखेलस्थित बस बिसौनीभन्दा केही तल अरनिको राजमार्गस्थित जङ्गल क्षेत्रमा कन्टेनर भ्यानले ती नागरिकलाई ओरालेको थियो ।

ती नागरिकलाई जहाँबाट आएको त्यही फर्काउने वा अन्य कुनै सावधानी अपनाई कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको प्रजिअ तिमल्सिनाले बताए ।

“नियन्त्रित भारतीय नागरिकलाई जहाँबाट आएको उतै फर्काउने वा अन्य कुनै प्रक्रियमा जाने भन्नेबारे सम्बन्धित निकायसँग थप छलफल हुँदैछ, बिनासूचना यसरी मानिस ल्याएर छाड्न पाइँदैन”, तिमल्सिनाले भने । उनले ती नागरिकका बारेमा  सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयसँग समन्वय भइरहेको बताए ।

यसैबीच कोरोना भाइरसका कारण धुलिखेल अस्पतालमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ स्थित राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको गत बिहीबार राति मृत्यु भएपछि काभ्रेपलाञ्चोकका अरनिको र बिपी राजमार्गमा थप कडाइ गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *