बहराइनमा ३३१ नेपालीमा कोरोना संक्रमण

बहराइनमा थप ८६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । यससँगै संक्रमित नेपालीहरूको संख्या ३३१ पुगेको छ ।

२४ वैशाखसम्म बहराइनमा रहेका थप २४५ जना नेपालीलाई कोभिड-१९ को संक्रमण भएको पुष्टि भएको थियो । बहराइनस्थित नेपाली दूतावासका अनुसार त्यसपछि थप ८६ जना नेपालीमा यस्तो संक्रमण भेटिएको छ ।

बहराइनमा ३ हजार ९ सय ७३ जना संक्रमित उपचारमा छन् २ हजार ७ सय ६२ जना डिस्चार्ज भएका छन् । तर, त्यसमध्ये कति नेपाली डिस्चार्ज भए भन्ने खुलेको छैन ।

बिरामीमध्ये धेरै स्थानीय छन् भने आप्रवासीहरूमा भारत, बंगलादेश, पाकिस्तानपछि नेपाली संक्रमितको संख्या ठूलो छ । कोरोना संक्रमणकै कारण बहराइनमा अहिलेसम्म १२ जनाको मृत्यु भएको छ ।

धेरै संक्रमण देखिएपछि बहराइनमा रहेका नेपालीहरूको परिवार नेपालमा चिन्तामा छन् । तर, बहराइनका लागि नेपाली राजदूतवासले चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएको छ ।

दूतावासका अनुसार कामदारहरूको बासस्थानमा सामाजिक दुरी कायम गर्न नसक्दा संक्रमणको दर बढिरहेको छ । एकैस्थानमा धेरै कामदार बस्ने गरेकाले एक जनामा भएको संक्रमण अन्यमा फैलिएकाले नेपाली कामदारहरू असुरक्षित बन्न पुगेका छन् ।

अहिले बहराइनमा सेमिलकडाउन छ । धेरै कम्पनीहरू बन्द भएपनि ठूला परियोजनामा काम भइरहेको छ । बिहान र बेलुका कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको छ । दूतावासले नेपाली कामदारहरुलाई सार्वजनिक स्थानमा जाँदा मास्क लगाउन आग्रह गरेको छ ।

मानमास्थित नेपाली दूतावासका अनुसार कतिपय कामदार भिसा अवधि सकिएर पनि नेपाल फर्किन सकेका छैनन् । उनीहरूलाई खानाको समस्या नहोस् भनेर दूतावास, स्थानीय संघ संस्था र सहयताकर्मीले सहयोग गरिरहेका छन् । बरहाइन सरकारले यस्ता अवैध बन्न पुगेका कामदारलाई ३१ डिसेम्बर २०२०सम्म माफी भिसा दिने निर्णय गरिसकेको छ ।

बहराइनमा करिब ३५ हजार नेपाली कार्यरत रहेको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *