सशस्त्र प्रहरीको टोली काठमान्डौँबाट दार्चुला प्रस्थान

आज बिहान सशस्त्र प्रहरीको टोली काठमान्डौँबाट दार्चुला प्रस्थान गरेको छ । भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी नजिक छाङरुको गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी)   स्थापनाका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक नारायणबाबु थापा, गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, बीओपीमा खटिने २५ जना सशस्त्र प्रहरी दार्चुला प्रस्थान गरेका हुन् ।
दार्चुलाको कालापानी भन्दा १३ किलोमिटर वर व्याँस गाउँपालिका–१ गागामा बिओपी स्थापनाका लागि ६ महिनाका लागि पुग्ने खाद्यान्न, हातहतियार र बन्दोबस्तीका सामानहरु दार्चुला सदरमुकाम खलंगामा तयारी अवस्थामा राखिएको छ । गत मंसिर महिनामा नेपाल सरकारले छाङरुमा बिओपी राख्ने निर्णय गरे पनि हिमपात र लकडाउनका कारण ढिलाइ भएको थियो । छाङरुमा भौतिक संरचना निर्माण गर्न समय लाग्ने भएकोले तत्काल गागास्थित स्थानीयको घर भाडामा लिएर बिओपी स्थापना गरिने सशस्त्र प्रहरी बल नम्बर ५० हेडक्वाटर दार्चुलाका डिएसपी डम्बरबहादुर बिष्टले बताउनुभयो ।
भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुदै चीनसंग सीमाना जोड्ने गरी ९५ किलोमिटर सडक निर्माण गरेपछि सरकारले तत्काल कालापानी क्षेत्रमा सशस्त्र खटाउने निर्णय कार्यान्वयन गरेको जनाएको छ ।
सशस्त्रसंगै उक्त हेलिकोप्टरमा सई हर्कसिह महताको नेतृत्वमा ९ जना नेपाल प्रहरी पनि छाङरु जाने जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी पदमबहादुर बिष्टले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *