दिल्लीबाट हिँडेरै जोगवनी, भारतीय प्रहरीले सीमा कटायो

भारतको नयाँ दिल्लीबाट ११ दिनको पैदल यात्रापछि ११ युवा विराटनगरको सीमावर्ती क्षेत्र रानी आइपुगेका छन् ।

लकडाउनका कारण खान समस्या भएपछि उनीहरु ११ दिन पैदल र केही स्थानमा ट्रक चढेर नेपाली भूमि आएका हुन् ।

राति करिब १२ बजे सीमावर्ती क्षेत्र जोगवनी आइपुगेकाहरुलाई भारतीय प्रहरीले २ बजे चोरबाटो हुँदै नेपाल पठाएको छ । नेपाल प्रवेश गरेका उनीहरुले भारतीय प्रहरीले नेपाल नगए कुट्ने बताएपछि उनीहरुले देखाएकै बाटो भएर आएको बताएका छन् ।

२ बजे नेपाल प्रवेश गर्ने दिल्लीबाट आएका ११ र अन्य चारजनालाई नेपाल प्रहरीले सीमावर्ती क्षेत्रमा रोकेर राखेको छ ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाका अनुसार राति २ बजे नेपाल प्रवेश गर्नेमा ११ जना दिल्लीबाट हिँडेर आएका र ४ जना बिहारको छप्रा जिल्लाबाट आएका छन् ।

नेपाल प्रवेश गरेपछि स्थानीय प्रशासनको समन्वयमा क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको उनले बताए । उनका अनुसार नेपाल आइपुगेकामध्ये झापाका ४ जना, मोरङका २ जना र सुनसरीका ९ जना छन् ।

नेपाल आएकालाई विराटनगर महानगरपालिका– १६ हुलास मेटल उद्योगमा रोकेर राखिएको छ ।

उनीहरुलाई विराटनगर १६ का वडाध्यक्ष मनोज सुब्बाले खाजा र खानाको व्यवस्था गरेका छन् । भारतले जोगवनीमा निर्माण गरेको क्वारेन्टाइनमा करिब ६० जना नेपाली छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *