साउदीमा समस्यामा परेका नेपाली श्रमिकलाई खाद्यान्नको व्यवस्था

साउदीमा समस्यामा परेका नेपाली श्रमिकहरुलाई खाद्यान्नको व्यवस्था गरिएको छ । साउदीमा रहेको नेपाली दूतावास, एनआरएनए र दर्जनभन्दा बढी संघसंस्थाहरुको सहयोगमा २५० भन्दा बढी कामदारलाई खाद्यान्नको व्यवस्था गरिएको र १२ जनालाई विभिन्न स्थानमा आवासको व्यवस्था मिलाइएको दूतावासले जनाएको छ

यस्तै एकसय ७१ जनालाई खाद्यान्नको अविलम्व व्यवस्था गर्न सम्बन्धित इजाजतपत्रवाला र रोजगारदातालाई अनुरोध गरिएको छ ।

ठूलो संख्या (५ हजार भन्दा बढी नेपाली रहेका) मा नेपाली कामदारहरू रहेका ७ वटा सप्लाइ कम्पनीले कामदारलाई आवासबाट निकाली अलपत्र पारेको गुनासो प्राप्त भएपछि साउदी सरकारका सम्बन्धित निकायलाई अनुरोध गरी पीडित कामदारहरूको आवास र खाद्यान्नको प्रत्याभूति गरिएको पनि दूतावासले जनाएको छ ।

काम गर्ने स्थानमा खासै जोखिम नभए पनि काममा जान नचाहेका ४६ जना नेपाली श्रमिकलाई काममा फर्किन दूतावासले प्रेरित गरेको छ ।

यस्तै कोरोना संक्रमणको पुष्टि वा आशंकामा क्वारेण्टाइनमा रहेका कैंयौं नेपालीहरु र नेपालमा रहेका कतिपयका परिवारसँग सम्पर्क गरी परिवारलाई आश्वस्त पारिएको पनि दूतावासले जनाएको छ ।

दूतावासका अनुसार रूघाखोकी लागेका तर कम्पनीले बेवास्ता गरेको भनी दूतावासमा गुनासो पोखेका ३७ जना नेपालीहरूलाई स्वास्थ्य सेवाका लागि तोकिएको स्थानमा पठाउने व्यवस्था मिलाइएको छ ।

यसैगरी नेपाली श्रमिकहरुबाट दैनिक रूपमा गुनासा आएका अन्य कम्पनीमा पनि सम्पर्क गरी स्वास्थ्य सम्बन्धी नेपाली नागरिकका गुनासा व्यवस्थापन गर्न दूतावासले अनुरोध गरेको छ ।

यसै सन्दर्भमा नेपाली दूतावासका कर्मचारीले पूर्वक्षेत्रका श्रम (मानव संशाधन) मन्त्रालयका महानिर्देशक र उपमहानिर्देशकसँग भेट गरी नेपाली कामदारहरुले भोगिरहेका समस्या समाधानमा सक्रिय पहल गरिदिन लिखित एवं मौखिक अनुरोध गरेको छ । यस विषयमा त्यहाँका अधिकारीहरुको सकारात्मक सहयोग प्राप्त भइरहेको दूतावासले जनाएको छ ।

समस्यामा परेका बिरामी, महिला, घरफिर्ती केन्द्र र सेल्टरमा रहेका, अलपत्र एवं गैरकानूनी अवस्थामा पुगेका कामदार, रोजगारी गुमाएका तथा एक्जिट लागेका लगायतका नेपालीहरुले भोग्नुपरेका समस्या र समाधानका विषयमा नेपाल सरकारका सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिरहेको दूतावासको भनाइ छ ।

दूतावासका अनुसार अहिलेसम्म टेलिफोन, ह्वाट्एप र इमेलबाट लगभग ८ हजार जना कोरोना सङ्क्रमणबाट प्रभावित नेपाली श्रमिकहरुको विवरण संकलन गरी प्रणालीमा समावेश गरिएको छ । यस्तै टेलिफोनबाट विवरण लिने कार्यलाई दूतावासले केही दिनभित्रै अन्य माध्यमबाट गर्ने भएकाले साधारण मोबाइल फोन चलाउनेहरुलाई ढिला नगरी विवरण टिपाउन पनि दूतावासले आग्रह गरेको छ ।

यस्तै कोरोना संक्रमणको यस संकटपूर्ण घडीमा सकरात्मक सोच तथा उच्च मनोबलका साथ एक अर्कालाई सहयोग गरी संक्रमणबाट पार पाउन सहयोग र सहकार्यका लागि दूतावासले सबैलाई अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *