भारतप्रति सरकारको दलाली खुलारुपमा प्रकट भयो : विप्लव समूह

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले नेपालको भूमि हडप्ने भारतको विरोध गर्दै त्यसविरुद्ध राष्ट्रिय स्वाधीनताको संघर्ष सुरु गर्ने चेतावनी दिएको छ ।

नेपाली भूभागमा भारतले बेरोकटोक बाटो बनाउँदा पनि चुपचाप बस्नाले भारतप्रति वर्तमान सरकारको दलाली र लाचारी खुला रूपमा प्रकट भएको विप्लव समूहको निष्कर्ष छ ।

भारतले नेपाललाई पराधीन बनाउन लागेको प्रस्ट भएको उल्लेख गर्दै विप्लव समूहले अहिलेको सरकारको अन्त्यका लागि संघर्षमा उठ्न नेपाली जनता, सबै राजनीतिक पार्टी, नेपाली सेना र नेपाल प्रहरीलाई समेत अपिल गरेको छ ।

नेपालको भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोबर पुग्ने बाटो बनाएर भारतले नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामाथि हमला गरेको विप्लव समूहले जनाएको छ ।

विप्लव समूहको अन्तर्राष्ट्रिय व्युरोका इञ्चार्ज धर्मेन्द्र बास्तोला -कञ्चन)ले विज्ञप्ति जारी गर्दै भारतलाई नेपालको सार्वभौमिकताको सम्मान गर्न, चीनलाई नेपालको भूभाग हडप्ने भारतको प्रक्रियामा सहभागी नहुन र संयुक्त राष्ट्र संघलाई नेपालको सार्वभौमिकतामाथि भारतले गर्दै आएको हमलामा ध्यान पुर्‍याउन अपिल पनि गरेका छन् ।

भारतको पछिल्लो कदम सन् १९६२ देखि नेपालका लिम्पियाधुरा, कालापानीमा पनि सैनिक अखडा गर्ने प्रक्रियाको निरन्तरता उत्कर्षमा पुगेको विप्लव समूहको ठहर छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘भारतीय साम्राज्यवादको यो हर्कत सन् १९६२ देखि नेपालका लिम्पियाधुरा, कालापानीमा पनि सैनिक अखडा गर्ने प्रक्रियाको निरन्तरताको एक उत्कर्षका रूपमा आएको छ । त्यसले नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामाथि हमला गरेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *