आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नेगरी योजना बनाउन अर्थविद्को सुझाव

कोरोनाभाइरसका कारण विश्वभर आर्थिक गतिविधि ठप्प हुँदा नेपालको अर्थतन्त्र धरासायी बन्ने खतरा बढेको छ । राजस्व संकलनदेखि नेपालीहरुको भान्सामा समेत असर परेको छ ।

अर्थविद्हरु भने यो संकटलाई आत्मनिर्भर अर्थतन्त्र निर्माणको अवसरमा परिणत गर्नुपर्ने बताउँछन् ।

‘कोभिड–१९ का कारण चालू आर्थिक वर्षको आर्थिक वृद्धिद्धर २.८ प्रतिशतमा खुम्चने प्रक्षेपण राष्ट्रिय योजना आयोगले गरेको छ ।

कोभिड–१९ कै कारण आर्थिक गतिविधि नहुँदा करिब ६ खर्ब अर्थात् कुल ग्रार्हस्थ उत्पादनको २० प्रतिशतसम्म गुम्नसक्ने अनुमान गरिएको छ ।

यस अवधिमा भन्सार महसुलदेखि राजस्व संकलनमा समेत कमी आएको छ । राजस्व संकलनमा दुई खर्बको कमी आउने भएको छ भने रेमिट्यान्समा पनि २० प्रतिशतले कमी आउने देखिएको छ ।

पर्यटन उद्योग चलायमान हुन लामो समय कुर्नुपर्ने नेपाल पर्यटन बोर्डले बताएको छ ।

वैदेशिक रोजगारीमा गएका करिब चार लाख बढी नेपालीहरु तत्कालै नेपाल आउने गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।

यस्तो अवस्थामा वार्षिक नेपाली श्रमबजारमा आउने श्रमिक र वैदेशिक रोजगारीबाट फर्केकालाई पनि रोजगारी सिर्जना गर्न सरकारको तत्कालको चुनौती रहेको अर्थविद् डा. अच्युत वाग्ले बताउँछन् ।

नेपालमा वार्षिक दलहन, खाद्यान्न, मासु तथा दुग्धजन्य पदार्थ तीन खर्ब बढीको आयात हुने गर्दछ ।

यी वस्तुको आयात रोक्ने गरी स्वदेशमा उत्पादन बढाउनुपर्ने र स्वदेशी कच्चापदार्थमा आधारित उद्योगमा लगानी बढाउनुपर्ने डा. वाग्ले बताउँछन् ।

अर्का अर्थविद् डा. विश्वम्भर प्याकुरेल सरकारले कृषि र साना तथा मझौला उद्योगमा लगानी बढाइ रोजगारी सिर्जना गर्नुको विकल्प नरहेको बताउँछन् ।

कोभिड–१९ लाई असरभन्दा पनि अवसरको रुपमा विकास गर्न सरकारले बजेटको संरचना र प्राथमिकता परिवर्तन गर्दै आत्मनिर्भर बन्नेतिर अघि बढ्नुपर्ने प्याकुरेलको सुझाव छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *