२२ लाख पुगे डिम्याट खाता खोल्नेहरू

सेयर बजारले दैनिक नयाँ रेकर्ड बनाइरहँदा डिम्याट खाता खोल्नेहरु बढेका छन्। सिडिएस एण्ड क्लियरिङका अनुसार यस्तो खाता खोल्नेको संख्या करिब २२ लाख पुगेको  छ।

अहिलेसम्म २१ लाख ९९ हजार ६७ जनाले डिम्याट खाता खोलेको क्लियरिङका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। यद्यपि कतिपयले दुई खाता खोलेको पनि हुन सक्ने उनले बताए।

यस्तो खाता दुईभन्दा बढी खोल्न भने पाइने छैन। दुईभन्दा बढी खाता खोलेमा रद्द हुने प्रावधान रहेको न्यौपानेले बताए।

असार मसान्तसम्म डिम्याट खाता खोल्नेको संख्या १६ लाख ८६ हजार १०२ थियो। साढे ४ महिनामै ५ लाख १२  हजार बढीले डिम्याट खाता खोलेका छन्। यसले सेयर बजारमा नयाँ लगानीकर्ताको संख्या बढेको पुष्टि गर्ने प्रवक्ता न्यौपानेले बताए।

सेयर बजारबारे जति बढी प्रचार, प्रसार हुन्छ त्यति नै बढी डिम्याट खाता खोल्नेको संख्या बढ्ने गरेको उनको भनाइ छ।

‘बजार बढेपछि नयाँ लगानीकर्ता पनि थपिन्छन्, हाल नयाँ बीमा कम्पनीसहित धेरैको आइपिओ पनि आइरहेको छ, यसले पनि डिम्याट खाता खोल्नेको संख्या बढेको हो’ उनले सेतोपाटीसँग भने।

कतिपयले प्राथमिक सेयर भर्नकै लागि पनि डिम्याट खाता खोल्ने गरेका छन्। हाल सेयर बजार उच्च विन्दुमा पुग्दा डिम्याट खाता खोल्नेको संख्या झनै बढेको छ।

डिम्याट खाता नभएकाले प्राथमिक सेयर भर्न पनि पाउँदैनन्। दोस्रो बजारमा किनबेच गर्न पनि पाउँदैनन्। कतिपयले अहिले पनि सेयर प्रमाणपत्र नै घरमा राखिरहेका छन्। हालसम्म ५ अर्ब ६७ करोड कित्ता सेयर विभिन्न व्यक्तिका डिम्याट खातामा संकलन छ।

अझै पनि करिब २० प्रतिशत सेयर डिम्याट हुन बाँकी रहेको उनले बताए। खासगरी नयाँ जलविद्युत कमपनीको संस्थापक सेयर केही वर्षसम्म किनबेच गर्न नपाइने प्रावधान रहेकाले पनि डिम्याटमा आउन नसकेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *