चितवनमा कोरोना सङ्क्रमित तीन जनाको मृत्यु

कोरोना संक्रमणका कारण चितवनमा तीन जनाको मृत्यु भएको छ ।

चितवनको  मेडिकल कलेज भरतपुरमा दुई जना र भरतपुर अस्पतालमा एकजनाको मृत्यु भएको हो ।

चितवन मेडिकल कलेजमा मृत्यु हुनेमा मकवानपुर बागमती गाउँपालिका वडा नं. ६ फापरवारीकी ८५ बर्षिया महिला र सर्लाही हरीवन नगरपालिका वडा नं. १० का ३८ बर्षीय पुरुष छन् ।

असोज १५ गते ज्वरो, निमोनिया भएर अस्पताल भर्ना भएकी महिलामा असोज २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको शनिबार ५ बजे मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

यस्तै  सवारी दुर्घटनामा परी असोज ८ गते अस्पताल भर्ना भएका सर्लाहीका युवकमा २१ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

शनिबार साँझ नै भरतपुर अस्पतालमा चितवनको भरतपुर महानगरपालिका-१ का ४७ बर्षिय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । असोज २३ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएका अस्पताल भर्ना भएका सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको अस्पतालको कोभिड आइसियूमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *