असोज १५ बाट अन्तर्राष्ट्रिय उडानमा मागेजति अनुमति, तर भारतमाथि अझै रोक

दशैँ-तिहारको समय पारेर बिहीवारदेखि नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानहरूलाई मागेजति अनुमति दिन थालिएको बताए पनि अहिलेसम्म १४ वटा विमानसेवाले मात्र नियमित उडानका लागि अनुमति लिएको उड्डयन अधिकारीहरूले जनाएका छन्।

सामान्य अवस्थामा दैनिक एक सयको सङ्ख्यामा आउजाउ उडान हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले प्रतिबन्ध खुकुलो पार्दा समेत तत्काल दैनिक केही समय दुईदेखि साढे दुई दर्जनको हाराहारीमा मात्र उडान हुने देखिएको अधिकारीहरूको भनाइ छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री भन्छन्: “यतिखेर काठमाण्डू विमानस्थल दैनिक २१ घण्टा खुलेको छ। विमानसेवाहरूले मागेजति उडान अनुमति पाएका छन्। तर सामान्य अवस्थाको नजिक आउने काम तत्काल सहज देखिंदैन।”

प्राधिकरणले हाललाई अक्टोबर २४ सम्मको लागि उडान तालिका सार्वजनिक गरेको हो।

त्यसबीचमा दैनिक १३ देखि १५ वटा अन्तर्राष्ट्रिय आगमन उडान हुने प्राधिकरणको तालिका छ।

यात्रुलाई पीसीआरअनिवार्य सर्त

नियमित उडानमा नेपाल आउने यात्रुहरूका लागि सरकारले बढीमा ७२ घण्टाअघिको पीसीआर रिपोर्ट अनिवार्य गरेको छ।

जसमा यसअघि पीसीआर असहज भएको भन्दै चार्टर्ड उडानको मात्र अनुमति दिइएका कतार, साउदी अरब, कुवेत, ओमन लगायतका देशहरू समेत छन्।

काठमाण्डु विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्ण भन्छन्, “पीसीआर नेगेटिभ नभएको कुनै यात्रु नियमित उडानमा पाइएमा सम्पूर्ण यात्रुलाई क्वारन्टीनमा पठाइन्छ। पीसीआर गर्न नसक्नेहरूका लागि नियमित उडान गर्न नसक्ने ठाउँमा चार्टर्ड उडान समेत सुरु गरिनेछन्।”

अन्तर्राष्ट्रिय उडानमा यसरी खुकुलो बनाइँदा समेत भारतका विभिन्न शहरमा भने अझै नियमित उडान सुरु गरिएको छैन।

अधिकारीहरूले त्यसको कारण त्यहाँ उडानका लागि विमानसेवाहरूले चासो नदिनु भने नरहेको बताउँछन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराई भन्छन्: “सरकारको खास चासो भारतमा बढिरहेको उच्च सङ्क्रमणसँग हो। त्यसलाई कसरी खोल्ने भनेर अहिले हामी समीक्षा गरिरहेका छौँ।”

भारतका नागरिक उड्डयनमन्त्री हरदिप सिंह पुरीले अगस्ट १८ मै एउटा ट्वीट गर्दै विदेशमा अलपत्र परेका आफ्ना नागरिकहरूलाई स्वदेश ल्याउने कार्यक्रम ‘एयर बबल’ मार्फत् केही सीमित सङ्ख्यामा नियन्त्रित उडान गर्न नेपालसँग प्रस्ताव गरिएको जनाएका थिए।

जस कार्यक्रम अन्तर्गत नेपालीहरू समेत भारतबाट स्वदेश फर्कन पाउनेछन्।

यो साताको सुरुमा नेपालका उड्डयन अधिकारीहरूले मन्त्रिपरिषद्‌बाट त्यो पारित हुन लागेको बताएका थिए। तर त्यसयता बसेका दुईवटा मन्त्रिपरिषद्‌मा त्यसबारे कुनै निर्णय भएको छैन।

सामान्य अवस्थामा नेपालबाट ३२ गन्तव्यमा सिधा उडान हुने गरे तापनि अहिले तोकिएका उडानमा २२ गन्तव्य मात्र छन्।

धेरै उडान हुने थाइल्याण्डको ब्याङ्ककमा समेत अझै उडान खुला गरिएको छैन।

पर्यटकले उडान थपिएला?

कात्तिक १ देखि विदेशी पर्यटकहरूलाई समेत नेपाल आउने अनुमति दिइए पनि त्यसमा रहेका जटिलताहरूले अझै त्यसले उडान सङ्ख्या बढाउने अवस्था नदेखिएको पर्यटन व्यवसायीहरूले बताउने गरेका छन्।

पदयात्रा र पर्वतारोहणका लागि विदेशी आउन दिइएको बताइए पनि उनीहरूलाई नेपाल आउनुअघि नै ७२ घण्टाभित्रको पीसीआर र पाँच हजार अमेरिकी डलरको विमा गरेको पत्र बुझाउनु पर्ने नियम तोकिएको छ।

काठमाण्डूमा एक साता क्वारन्टीन बस्नुपर्ने होटलको समेत पहिले नै बुकिङ गरेको हुनुपर्नेछ भने क्वारन्टीनको पाँचौँ दिन फेरि पीसीआर जाँच गर्नुपर्नेछ।

ती मापदण्डलाई केलाउँदै एकजना आरोही एवम् लेखक एलन अर्नेटले आफ्नो ब्लगमा लेखेका छन्: “मलाई लाग्छ नेपालजस्तो पर्यटनमा निर्भर देशमा सायद अहिले नजानु नै ठिक छ।”

त्यसैले तत्काल उडानको सङ्ख्या थप बढ्ने नदेखिएको अधिकारीहरूको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *