सम्झनामा राष्ट्रकवि

जुठो बारेकी मन्दाक्रान्ताप्रति
को भन्देला म छु अब तिमी फेरि हाँसेर गाऊ
आऊ मेरानजिक सहसा क्यै खुली क्यै लजाऊ
भाका प्यारो भर कलकला गण्डकीझैँ बगाऊ
मन्दाक्रान्तासँग दिल टुटे रुन्छ धर्ती नजाऊ

नेपालीको दिलबिच उठ्यो चेतनाको तिरङ्गा
कालीगङ्गासँग लहरिँदै फैलियो भावगङ्गा
माया लायो लय(लहरको सिर्जना मोहनीले
छाया पायो अभय वरको काव्य सौदामिनीले
चौतारीको वरसँगसँगै भत्किहाल्यो छहारी
खेल्थे माया(मन सँयलमा प्रीत फुल्ने जुहारी
यो बाटाका पथिक कसरी ढुक्कले बास बस्लान्
हाँस्दै बोल्ने “नवयुवक“का यादमा आँसु खस्लान्
भन्छन् कोही सुख र सुविधा खासमा चाहिँदैनन्
मान्छे तान्ने सुन र गहना लाशमा चाहिँदैनन्
के के सम्झी गगनतिर पो फर्किए साँझ आँखा
मन्दाक्रान्ता भन न अब को गाउला स्वादु भाका ।
जाओ सप्पै भवविभवका वर्णनातीत भाव
लाओ आगो अब शिथिल यी शब्दमा छैन राग
बोकी मुट्ठीभर मनरुवा सम्झनाको खरानी
मन्दाक्रान्ता कविवरसँगै अल्पिईन् स्वाट्ट आज

 

–भीम खतिवडा
(साहित्यसुधा, नेपालको श्रद्धाञ्जली बिजुलीसभामा प्रस्तुत सृजना)

Leave a Reply

Your email address will not be published. Required fields are marked *