अमेरिकी राष्ट्रपति ट्रम्पलाई विषालु पत्र पठाउने महिला पक्राउ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विषालु पदार्थ मिसिएको पत्र ह्वाइट हाउसमा पठाउने व्यक्तिको पहिचान भएको छ । उनी महिला रहेको जनाइएको छ ।

उनी एक गैरकानूनी क्यानेडियन आप्रवासी रहेको एक प्रतिवेदनमा उल्लेख गरिएको छ । न्यूयोर्क पोष्टका अनुसार आशंकित व्यक्ति क्यूबेककी ५३ वर्षीया पास्कल फेरियर हुन् । उनलाई न्यूयोर्क नजिकैबाट पक्राउ गरिएको छ ।

जसलाई सन् २०१९ को मार्चमा टेक्ससमा हिरासतमा लिइएको थियो । आफ्नो भिसाको समयावधि सकिएकी उनलाई नक्कली लाइसेन्स लिएर गाडी चलाइरहेको बेलामा पक्राउ गरिएको थियो ।

उनी २० दिन जेल बसेर पछि निर्दोष साबित भई निस्किएकी थिइन् । पछि उनलाई क्यानडा निष्काशन गरिएको थियो ।

उनको अन्तिम निशाना राष्ट्रपति ट्रम्प भएपनि टेक्सासका आप्रवासन अधिकारीहरुलाई पनि यस्तै खाले पत्र उनले पठाएको दाबी गरिएको छ ।

यस्तै खाले ६ वटा पत्र पठाइएकामा ५ वटा टेक्सास र एउटा ह्वाइट हाउस पठाइएको जनाइएको छ ।

अमेरिकी अधिकारीहरुका अनुसार राष्ट्रपति ट्रम्पलाई सम्बोधन गरेर पठाइएको शंकास्पद पत्रमा ‘रिसिन’ नामक विषालु पदार्थ भेटिएको थियो ।

उक्त पत्र ह्वाइट हाउस पुग्नुभन्दा अगावै सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका थिए । ह्वाइट हाउस जाने सबै पत्र अनुगमन र निरीक्षण हुने केन्द्रमा विषालु पदार्थ भेटिएको हो ।

अमेरिकी संघीय जाँच ब्युरो (एफबिआई) र सेक्रेट सर्भिसको प्रारम्भिक छानविनमै उक्त पत्र क्यानडाबाट पठाइएको हुनसक्ने अनुमान अधिकारीहरुले गरेका थिए ।

अमेरिकी राष्ट्रपतिलाई सम्बोधन गरेर यसअघि पनि बेलाबखत यस्ता पत्रहरु आउने गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *