अफगानी सुरक्षा कारबाहीमा २१ तालिबान लडाकुको मृत्यु

अफगानिस्तानमा भएको सुरक्षा कारबाहीका क्रममा कम्तीमा २१ जना तालिबान लडाकुहरूको मृत्यु भएको छ ।
अफगानिस्तानका दुई प्रान्तमा शनिबार भएका घटनामा परी अरु सात जना घाइते भएको अधिकारीहरूले जनाएका छन् । घटनाका बारेमा अफगान विषेश सुरक्षा बलले आइतबार पुष्टि गरेको छ ।
बड्घीस प्रान्तमा १२ जना मारिएका हुन् भने अर्का एक जना घाइते भएका हुन् । त्यहाँ सुरक्षाकर्मीहरूले हवाई आक्रमण गरेका थिए । पहिलो आक्रमण क्वाडीस जिल्लाको क्वार्चाघी गाउँमा भएको अफगान राष्ट्रिय सैनिक विशेष बलको टोलीले जनाएको छ ।
घटनाका क्रममा स्थानीय गाउँले तर्फ र सुरक्षाकर्मीतर्फ भने कुनै क्षति नभएको पनि सुरक्षा अधिकारीहरूले दाबी गरेका छन् ।
त्यसैगरी अर्को घटना गजनी प्रान्तमा भएको हो । त्यहाँ नौ जना मारिएको र अरु छ जना घाइते भएको सुरक्षा निकायले जनाएको छ । आन्द्र जिल्लाको चाहर डेवार भन्ने ठाउँमा भएको जनाइएको छ ।
अफगानिस्तानमा सरकारी सुरक्षाकर्मीहरूले देशका विभिन्न ठाउँमा सुरक्षा कारबाही चलाउँदै आएका छन् ।
पछिल्ला दुवै घटनाका बारेमा तालिवान विद्रोहीहरूको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया नआएको समाचारमा जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *