काभ्रेको धुलिखेल अस्पताल क्षेत्र सिल

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण दर दिनदिनै बढेसँगै काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल क्षेत्र सिल गर्ने निर्णय गरिएको छ । आजको परीक्षणमा एक बिरामीसहित १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल क्षेत्र बन्द गर्ने निर्णय गरिएको हो ।
जिल्ला सङ्कट व्यवस्थापन केन्द्र प्रमुख एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, धुलिखेल नगर प्रमुख अशोककुमार ब्याञ्जू, जिल्लास्थित सङ्कट व्यवस्थापन केन्द्र र कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झालगायत स्थानीय जनप्रतिनिधि सम्मिलित बैठकले अस्पतालको आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गर्ने निर्णय गर्दै अस्पतालको ५०० मिटरको दूरीसम्म अर्को सूचना जारी नभएसम्म बन्द् गर्ने निर्णय गरेको हो । “अस्पताल क्षेत्र सिल गरिएसँगै अस्पताल वरपर व्यवसाय गर्नेलाई आइतबारदेखि घरमै बस्न लगाइएको छ”, प्रजिअ तिमल्सिनाले भन्नुभयो ।
यसैबीच काभ्रेपलाञ्चोकमा पहिलो पटक मण्डनदेउपुर नगरपालिकाका वडाध्यक्षलाई कोरोना सङ्क्रमण देखिएको छ । केन्द्र र पोष्टले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने समूह तथा संस्था सञ्चालकसमेतलाई कानूनबमोजिम दण्ड तथा जरिवाना गर्ने चेतावनी दिएका छन् । साथै जिल्लाभित्र होटल र रेष्टुरेण्टमा सामूहिक भोज, गोष्ठी वा अन्य सामूहिक भेलाजस्ता कार्य गर्न निषेध गर्ने तथा त्यस्ता गतिविधि गर्ने जोकोहीलाई कारवाही गरिने चेतावनी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *