राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आगामी एक हप्ताभित्र नतिजा सार्वजनिक गर्ने तयारी भईरहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।
नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण एसईई नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो । विद्यालयहरूले जिल्ला समन्वय इकाइ मार्फत बोर्डमा पठाएको अंक रुजु भइरहेको सदस्य सचिव अर्याल बताउँछन् ।