सवारी चालक अनुमति पत्रको नयाँ आवेदन दुई महिनापछि खुला हुने

सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन दुई महिनापछि खुला हुने भएको छ । तत्काल नयाँ आवेदन खुला गर्दा सेवाग्राहीको भीड बढेर र कोरोना (कोभिड–१९) सङ्क्रमण फैलन सक्ने भएकाले दुई महिनापछि मात्र खुला गर्ने योजना रहेको यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागका महानिर्देशक गोगनबहादुर हमालले भन्नुभयो, “मुख्य त कोरोनाकै कारण तत्काल खुला नगरिने भएको हो । खुला गर्नासाथ मान्छेको चाप बढ्छ । भीड बढी भएपछि कोरोना फैलने सम्भावना हुन्छ । ” बन्दाबन्दी अघिदेखि नै नयाँ आवेदन रोकिएको हँुदा सेवाग्राही ठूलो सङ्ख्या एकै पटक आउन सक्ने सम्भावना रहेको हमालको भनाइ छ ।
विभागका अनुसार निरन्तर रूपमा खुला गरिएको दिन सामान्य दिनमा देशभर दैनिक पाँचदेखि आठ हजारसम्म नयाँ आवेदन पर्थे । लामो समय बन्द भएकाले सेवाग्राहीको चाप बढ्ने निश्चित छ । सम्भावित भीड व्यवस्थापन गर्ने गरी दुई महिनापछि खुला गरिने विभागले जनाएको छ । “अहिले प्रिन्ट गरेर सम्बन्धित कार्यालयमा पठाइएको लाइसेन्स त वितरण हुन सकेको छैन, मान्छे लिन आइरहेका छैनन् । यसैले नयाँ लाइसेन्स तत्काल खोल्दा व्यवस्थापन र कोरोनाको समस्या हुन्छ”, महानिर्देशक हमालको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *