आन्दोलनमा सहभागी भएर कार्यकारी प्रधानमन्त्री बन्न बालेन्द्रलाई दुर्गाको प्रस्ताव

काठमाडौं । गणतन्त्रविरोधी अभियान चलाइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई आफ्नो आन्दोलनमा सहभागी भएर देशको कार्यकारी प्रधानमन्त्री बन्न आग्रह गरेका छन् । व्यवस्था परिवर्तन गर्न भन्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका प्रसाईले आज सिफलमा आफू समर्थितहरुको समूहलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।

‘बालेनजीलाई पनि फेसबूकमा मात्र लेख्ने होइन, दुर्गा प्रसाईंसँग आएर उभिनुस् मुलुक बनाउने हो भने’, प्रसाईंले भने, ‘तपाईँलाई मन पराए भने कार्यकारी प्रधानमन्त्री बनन्नुस् मलाई चाहिँदैन । आउनुस् पहिला यी महिलाका आखाका आशु पुछौं । तपाईँ पनि सिराहा सप्तरीतिरको हो, यी महिला पनि त्यतैका हुन् ।’​

प्रसाईंले आफ्नो आन्दोलनले गणतन्त्रको जग हल्लाइ दिएकाले हिजो नजरबन्दमा राखिएको दाबी गरे । ‘मलाई हिजो सरकारले आङसाङ सुकीलाई जस्तो त्यो के रे ?(नजरबन्द)मा राख्यो, साँझ आएर सुरक्षाका लागि भन्यो’ प्रसाईंले भने ।

उनले आफ्नो आन्दोलनलाई मूलधारका मिडियाले समर्थन नगरेको गुनासो गरे । ‘मिडियाका १२ भाइहरूले हाम्रो आन्दोलनलाई सहयोग गरेनन्, तर पनि युट्युबका साथीहरूले गर्दा जनताले थाहा पाएका छन्’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *