मधेस सहितका मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ। सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन–जन परिचालित देखिँदा छन्। पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन्। त्यसो त कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधि हिजो बिहीबार नै गरेका हुन्। निरामिष (सात्विक) भोजन सुरू गरेर तृतीयाकै दिन व्रतको तयारी थालिने परम्परा छ।
छठले गर्दा मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदैछन्। छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिङ्गारिएका छन्। पर्वमा महिला/पुरुष जसले व्रत गरे पनि हुने विधान (शास्त्रीय मत) भए पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेको देखिन्छ। पर्व सुरू भएको मानिने आज कात्तिक शुक्ल चौथीका दिन बर्तालुले पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनीतो खानेछन्। यो विधिलाई मिथिलामा ‘नहाय–खाय’ भन्ने गरिएको छ। पर्वले घर–घरमा व्यस्तता बढाएको छ। पूजा सामग्रीको जोरजाम र व्यवस्थापनमा सबै केन्द्रित देखिँदा छन्।
श्रद्धा, निष्ठा र आत्मिक शुद्धीलाई अत्यन्त महत्त्व दिइने यस पर्वका पूजा प्रसाद सामग्री ठकुवा (गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घ्यूमा बनाइने खास परिकार), भुसुवा (कसार) र अन्य मिष्ठान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिधिंएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ। यी परिकार पकाइन चुल्हो पनि नयाँ प्रयोग गरिन्छ । पर्वमा सूर्यलाई अघ्र्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को (पातगुवो) सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्वविशेषमा यी कृषि उपजले राम्रो बजार पाउने गरेका छन्।
हिजो बिहीबार कात्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अरबाइन’ र आज (चौथी तिथि) ‘नहाय–खाय’ विधि गर्ने बर्तालुले भोलि कात्तिक शुक्ल पञ्चमीका दिन दिउँसभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप खानेछन् । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन् ।
केही दशकअघि मिथिला र तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब नेपालको सन्दर्भमा राष्ट्रिय पर्व नै बनिसकेको छ। पहाड, मधेसको सांस्कृतिक घुलमिलले छठपर्व अब साझा पर्व बन्दै गएको यस क्षेत्रका बुद्धिजीवी बताउँछन्। जन–जन परिचालित हुने यो लोकपर्व मिथिला संस्कृतिको अभिन्न अङ्गका रूपमा स्थापित भएको देखिन्छ।