नयाँ नक्साबारे सरकार गम्भीर छ– सुवास नेम्वाङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता सुवासचन्द्र नेम्वाङले लिम्पियाधुरा समेटिएको नयाँ नक्साबारे सरकार गम्भीर रहेको बताउनुभएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेम्वाङले राष्ट्रपतिबाट वितरण गरिएको विभूषणमा लिम्पियाधुरा समेटिएको नयाँ नक्सा नसमेटिएको बारे सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको हो ।

‘नयाँ नक्सा पारित गराउनका लागि ठूलो चुनौतीकाबीच सिङ्गो देशलाई सर्वसम्मत गराएको सरकार यस्ता विषयहरूप्रति गम्भीर छ,’ उहाँले भन्नुभयो, ‘सदनमा उठेको नक्साको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको छ ।’

गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गर्नुभएको विभिन्न विभूषणमा नेपालको नयाँ राजनीतिक तथा भौगोलिक नक्सा प्रयोग भएको थिएन । त्यस विषयमा सामाजिक सञ्जाल, पत्रपत्रिका र सदनमा समेत विरोध भएको छ ।

त्यस विषयमा गृह मन्त्रालयले विज्ञप्ति नै निकालेर गत वर्षको विभूषण भएको स्पस्ट पार्दै अगामी बैशाख १ गते वितरण हुने विभूषणमा लिम्पियाधुरा समेटिएको नक्सा प्रयोग भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *