जापान नेपालमा लगानी बढाउन तयार : राजदूत

काठमाडौं, मंसिर १८-नेपालका लागि जापानी राजदूत मासामिची साइगोले जापान नेपालसँग आर्थिक सम्बन्ध थप विकास गर्न तयार रहेको बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेस र जापान अन्तर्राष्ट्रिय श्रम संस्थाद्वारा आयोजित दुईदिने गोष्ठीका क्रममा बुधबार काठमाडौंमा उनले जापान नेपालमा लगानी बढाउन तयार रहेको भन्दै त्यसका लागि उचित वातावरण बनाइदिन सरकारसँग आग्रह गरे ।

नेपालमा ९५ ओटा जापानी कम्पनीले लगानी गरिरहेको जानकारी दिँदै उनले नेपाली दक्ष जनशक्ति जापान लैजान पनि तयार रहेको बताए ।

कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले श्रम ऐन र सामाजिक सुरक्षा ऐन कार्यान्वयन नै अहिले चुनौतीपूर्ण रहेको भन्दै यो लागू गर्न नसके मुलुक नै असफल हुने जिकिर गरे । यसलाई स्थापित गर्न राज्य चुकेको उनको भनाइ थियो ।

यस्तै, ‘जिफन्ट’का अध्यक्ष विनोद श्रेष्ठले परिवारसहित जीवन उपयोगी ज्याला बढाएर रोजगारी वृद्धिसमेत गर्नुपर्ने बताए ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का नेपालका निर्देशक रिचार्ड हावार्डले श्रम समस्या समाधानका लागि आइएलओको सधैं सहयोग रहने बताए ।

कार्यक्रममा जापान अन्तर्राष्ट्रिय श्रम संस्थाका महासचिव रायो साइटोले जापानको श्रम आन्दोलनको इतिहासदेखि वर्तमानसम्मको कार्यपत्र प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *