विवाहपञ्चमीको रौनक, खचाखच भरियो जनकपुर

काठमाडौं ,मंसिर  १५-जनकपुरमा हर्षोल्लासपूर्वक विवाहपञ्चमी महोत्सव मनाइँदैछ। त्रेतायुगमा मर्यादा पुरुषोत्तम राम र जगत् जननी सीताकी विवाहको स्मरणस्वरूप प्रत्येक वर्ष मङ्सिर शुक्ल पञ्चमी तिथिमा यो पर्व मनाइन्छ। त्रेतायुगमा राम र सीताको विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरमा भएको मान्ने परम्पराअनुसार रामजानकीको डोलालाई जनकपुर ल्याई स्वयंवर गरी वैदिक परम्पराअनुसार विवाह गर्ने परम्परा छ।

मैथिली परम्पराअनुसार आइतबार राति जानकी मन्दिरको प्राङ्‍गणमा भगवान् राम र सीताबीच वैवाहिक कार्यक्रम हुँदैछ। भगवान् राम र सीताको प्रतीक बनाएर सम्पन्न हुने उक्त वैवाहिक कार्यक्रममा भारतको अयोध्यासहित अन्य स्थानबाट जन्तीका रूपमा आएका महन्त एवं साधुसन्त र तीर्थालुहरूको सहभागिता रहनेछ।

त्यसअघि रङ्‍गभूमि (बाह्रविघा) मैदानमा भगवान् राम र सीताको स्वयम्वर कार्यक्रम गरिन्छ । राम मन्दिरदेखि भगवान् रामको डोलासहित निस्किने जन्ती पक्ष र जानकी मन्दिरबाट विभिन्न झाँकी सहित निस्कने जानकी मन्दिरको डोला रङ्‍गभूमि मैदान पुगेपछि स्वयंवर कार्यक्रम गरिन्छ । स्वयंवर कार्यक्रममा मुख्य महन्तले पूजाअर्चना गरी माला फेर गर्छन् ।

स्वयंवर कार्यक्रमपछि रङ्‍गभूमि मैदानबाट शोभायात्रा निकालिन्छ। शोभायात्रामा विभिन्न सरकारी कार्यालय, संघसंस्था, मठमन्दिर लगायतबाट झाँकी निकालिन्छ।

यता विवाह पञ्चमीलाई दृष्टिगत गर्दै जानकी मन्दिरलाई दुलहीझैँ सजाइएको छ। सप्ताहव्यापी कार्यक्रम गरी मनाइने रामजानकी विवाह महोत्सवको प्रमुख आकर्षणको केन्द्र जानकी मन्दिरलाई रङ्‍गीचंगी बल्ब तथा फुलले सजाइएकाले मन्दिर भवन र परिसर झकिझकाउ देखिएको छ।

रामजानकी विवाहोत्सवमा सहभागी हुन तीर्थालु तथा भक्तजनले जनकपुर भरिभराउ भएको छ। विवाहोत्सवअन्तर्गत आइतबार हुने प्रमुख समारोहमा तीर्थालुहरूले जनकपुर खचाखच भरिएको हो।

विवाहोत्सवमा सहभागी हुन भारत तथा नेपालका विभिन्न स्थानबाट तीर्थालुहरू जनकपुर पुगेका छन्। विशेषतः विवाहोत्सव हुने प्रमुख स्थान जानकी मन्दिर र रङ्‍गभूमि क्षेत्रमा ठूलो संख्यामा तीर्थालुहरूको भीड लागेको छ।

यसपालि भने विवाह पञ्चमीका दिन नेपाल तथा भारतबाट १० लाख तीर्थालु पुग्ने आकलन गरिएको छ। विवाहोत्सवमा सहभागी हुने तीर्थालुहरू महोत्तरीको जलेश्वर र धनुषाको जटहीलगायतका नाकाबाट जनकपुर पुगिरहेका छन्।

तीर्थालुको चापलाई ध्यानमा राख्दै जनकपुर अञ्चल बस व्यवसायी संघले जलेश्वर र जटही सडक खण्डमा गुड्ने बसहरूको ‘क्यु’ दुई दिनको लागि अन्त्य गरेको छ।

भारतका विभिन्न स्थानबाट रिजर्व बस, निजी गाडीलगायतका साधन प्रयोग गरी हजारौँको सङ्ख्यामा तीर्थालु जनकपुर पुग्ने क्रम जारी छ। तीर्थालुका रिजर्व र निजी गाडीहरू जनकपुर प्रवेश गर्ने नाकामा पार्किङको व्यवस्था गरिएको छ।

रामजानकी विवाहोत्सवमा सहभागी हुन आउने तीर्थालुको सङ्ख्या धेरै भएपछि जनकपुरस्थित होटल, लज र धर्मशालामा चाप बढेको छ। यहाँका होटल, लज र धर्मशालाहरुमा तीर्थालु नअटाउने भएपछि सरोकारवालाहरूले बासका लागि ठाउँठाउँमा पण्डाल (टेन्ट) गाडेर व्यवस्थापन गरेका छन्।

विवाहपञ्चमीका तीर्थालुहरूका भीडभाडलाई मध्यनजर गरी निजी तथा सरकारी स्तरबाट निःशुल्क शिविरसमेत सञ्चालन गरिएको छ। स्थानीय युवा क्लब, गैरसरकारी संघसंस्था, जातीय संस्थासहितका तर्फबाट जनकपुरका विभिन्न स्थानमा शिविर सञ्चालन गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *