सगरमाथा चुचुरोको शव कसको?

काठमाडौं  मंसिर,१०-सगरमाथाको चुचुरोनजिकै एउटा शव झुन्डिरहेको छ। झट्ट अनुहारमा हेर्दा बोल्छ कि जस्तै लाग्ने मृत शरीरबाट ‘सेफ्टी डोरी’समेत टुटेको छैन।

आरोही ङातेन्जी शेर्पाकाअनुसार उक्त शव यस वर्षको वसन्त ऋतुमा मृत्यु भएका आरोहीको हो। तर, शव कसको हो भन्ने पहिचान नभएको उनले बताए। चुचुरो नजिक २ वटा नयाँ शव रहेको आरोही शेर्पा बताउँछन्।

आरोहीहरू ती व्यक्ति कुन कम्पनीबाट चुचुरो पुगेका थिए भन्ने खुलाउन चाहँदैनन्। कानुनतः आयोजक एजेन्सीले नै मृत आरोहीको शव आधारशिविरसम्म ल्याएर व्यवस्थापन गर्नुपर्ने हुन्छ। तर, हालसम्म नियामक निकाय पर्यटन विभागले यो काम गर्न सकेको छैन।

कीर्तिमान राख्ने उदेश्य लिएर आरोहणमा पुगेका आरोहीको मृत्यु भएपछि शव व्यवस्थापन नहुँदा हिमाल प्रदूषित बन्दै गएको छ। आरोही सुमन गुरुङ यस्तो क्रियाकलापमा तत्काल कडाइ गर्नुपर्ने बताउँछन्। चुचुरोबाट कैद गरिएको तस्बिरमा प्रष्टरूपमा शव देखिए पनि त्यसको व्यवस्थापनमा सरोकारवालाले चासो नदिएको उनको भनाइ छ।

सगरमाथा क्षेत्रमा हालसम्म २ सय ७९ जनाको मृत्यु भएको पर्यटन विभागको तथ्याङ्क छ। तर, देखिने शव आधा दर्जनमात्र भएको आरोहीहरू बताउँछन्। वातावरण सन्तुलन कायम गर्ने हिमालमा यसरी शवको व्यवस्थापन नगरी छाड्ने हो भने भोलिको दिनमा समस्या सिर्जना हुनसक्ने भन्दै तत्काल राज्यले कदम चाल्नुपर्ने पर्वतारोहीको माग छ। यस वर्षको वसन्त ऋतु आसपासमा मात्र हिमाल आरोहणका क्रममा २० जनाको मृत्यु भएको थियो।

यता नेपाल पर्वतारोहण संघले भने तीन महिनाअघि सगरमाथाबाट ४ र अन्नपूर्ण क्षेत्रबाट १ गरी ५ वटा शवको व्यवस्थापन गरेको जनाएको छ। पर्यटन विभागले एजेन्सीलाई मृत्यु भएका शवलाई तत्काल आधारशिविर ल्याउन कडाइ गरेको देखिँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *