चार न्यायाधीशमाथि छानविन गर्न समिति गठन

काठमाडाैं- न्यायपरिषद्को बैठकले उच्च अदालत र जिल्ला अदालतमा कार्यरत चार न्यायाधीशमाथि छानविन गर्न समिति गठन गर्ने निर्णय गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा आज बसेको परिषद्को बैठकले क्षेत्राधिकारविहीन मुद्दामा अन्तरिम आदेश गरेका उच्च अदालत पोखराका तीन न्यायाधीश र काठमाडौँ जिल्ला अदालतमा कार्यरत एक न्यायाधीशमाथि छानविन गर्न समिति गठन गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए।

क्षेत्राधिकारविहीन मुद्दामा अन्तरिम आदेश गरेका उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारी, रामचन्द्र यादव र नरबहादुर शाहीमाथि अध्ययन गर्न सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको नेतृत्वमा छानविन समिति गठन गर्ने निर्णय गरेको छ। क्षेत्राधिकार नै नभएको एक निजी कम्पनीको अन्तःशुल्क विवादमा तीन न्यायाधीशलाई काजमा परिषद्का झिकाउने निर्णय गरेको छ।

त्यस्तै जिल्ला अदालतका न्यायाधीश अर्जुन कोइरालामाथि छानविन गर्न परिषद्ले सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको नेतृत्वमा समिति गठन गरेको छ। काठमाडौँ जिल्ला अदालतमा रहेका कोइरालाले ललितपुर जिल्ला अदालतमा हुँदा एक मुद्दामा गरेको निर्णय विवादमा परेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *