तिरुपति ग्लासले तिर्याे छ करोड ३३ लाख जरिवाना

वीरगञ्ज, चैत ३० गते । तिरुपति ग्लास कम्पनीले वीरगञ्जको सिर्सिया सुख्खा बन्दगाह भन्सारलाई चैत २६ गते छ करोड ५३ लाख रुपियाँ जरिवाना तिरेको छ ।
भन्सार कार्यालयका सूचना अधिकारी चूडामणि शर्माका अनुसार चीनबाट आठ कन्टेनर राखेर आयात गरेको सिसा तिरुपति ग्लास कम्पनीले घोषणा गरेको भन्दा बढी परिमाण र मोटाईमा पाइएपछि कर छली गरेको पुष्टि भई भन्सारले गरेको छ करोड ३३ लाख रुपैयाँ जरिवाना तिरेको हो ।
करिब १ महिनादेखि भन्सार यार्डमा थन्किएको आयातित उक्त परिमाणको सिसा भन्सार कर्मचारीले छड्के चेकजाँच गर्दा परिमाण र मोटाइ बढी पाइएपछि भन्सार छल्ने नियत साबित भएको भन्सार कार्यालयका सूचना अधिकारी शर्माले गोरखापत्रलाई बताउनु भयो ।
एलो च्यानलमा आएको सामानहरु प्रायः कागजात हेरेर मात्र भन्सार जाँचपास गर्नुपर्ने प्रावधान रहे पनि आफूहरुले कुनै एवम शंकास्पदहरुको छड्के चेकजाँच गर्ने गरेको त्यसै क्रममा रबी अग्रवालले तिरुपति ग्लास उद्योगको नाममा आयात गरेको उक्त टफन सिसाको प्रकार र परिमाण भन्सार घोषणामा झुक्याउन खोजिएको पाइएको भन्सार कार्यालयका सूचना अधिकारी शर्माले बताउनुभयो ।
केही दिन पहिले तिरुपति बालाजीले सिसा आयात गर्दा परिमाण छली गरेको पाइएपछि तिरुपति ग्लास कम्पनीलाई पनि शंकाको दायरामा राखी भन्सार जाँच पास भएर १९ लाख २२ हजार राजश्वसमेत तिरिसके पनि सामान लगी नसकेकाले भन्सारले पुनः तिरुपतिको मालवस्तु जाँच गरेको थियो ।
‘भन्सार छल्ने नियतका साथ घोषणा गरिएभन्दा धेरै परिमाणमा सामान आयात गरेमा भन्सार ऐनअनुसार कम्पनीलाई पाँच सय प्रतिशत जरिवाना गर्ने नियम अनुसार गरिएको हो ’ भन्सार कार्यालयका सूचना अधिकारी शर्माले भन्नुभयो ।
भन्सार घोषणामा चार एमएम भनिएको ग्लास छड्के जाँचको क्रममा पाँच एमएमको भेटिएको र घोषणामा ११ हजार १६ स्क्वायर मिटर भनिएकोमा सिसाको परिमाण १७ हजार ५०३ स्कवायर मिटर पाइएको थियो ।
बालाजी ग्लासले यसअघि यसैगरी भन्सार छली गरेको विषयमा अनुसन्धान हुँदै जाँदा तिरुपति पनि छानविनको दायरमा परेको थियो । भन्सार जाँच पास भएर १९ लाख २२ हजार राजस्व तिरिसकेपछि भन्सारले पुनः तिरुपतिको मालवस्तु जाँच गरेको भन्सार कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *