जाजरकोटमा जीप दुर्घटनामा वडाध्यक्षसहित छ जनाको मृत्यु

जाजरकोटमा हिजो भएको जीप दुर्घटनामा वडाध्यक्षसहित छ जनाको मृत्यु भएको छ ।

जिल्ला सदरमुखकाम खलंगाबाट जुनिचाँदे जाँदै गरेको भे१ज ९३५ नम्बरको जिप बुधबार जुनिचाँदे गाउँपालिका-१ औलखोलामा  दिउँसो ३ बजे दुघर्टनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा एक जना बेपत्ता र एक जना गम्भीर घाइते हुनुभएको छ ।

जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठका अनुसार मृत्यु हुनेमा जुनीचाँदे गाँउपालिका वडा नम्बर ११ का वडाध्यक्ष ५० वर्षीय अमरबहादुर शाही, वडा नम्बर ११ कै ६२ वर्षीय पूर्व जिविस सदस्य कृतिबहादुर शाही, लालबहादुर बुढा र सोही वडाका स्वास्थ्यकर्मी ३२ वर्षीय खेमराज शाही हुनुहुन्छ । त्यस्तै वडा नम्बर ५ गर्खाकोटका २९ वर्षीय स्वास्थ्यकर्मी कृष्णबहादुर शाही र मटेलाकी २५ वर्षीया विद्यार्थी मालिका बस्नेतका हुनुहुन्छ ।
दुर्घटनामा परी एक जना मजकोट खोलामा बेपत्ता हुनुभएको छ भने वडा नम्बर ११ का ५५ वर्षीय शिक्षक नरबहादुर बुढा गम्भीर घाइते हुनुभएको र हाल उहाँको सुर्खेतमा उपचार भइरहेको छ । औलभीरबाट खसेको गाडी करिब पाँच सय मिटर तल रहेको मजकोट खोलामा परेको थियो ।
यता बाटोको स्तरोन्नति नहुँदा ठूलो मानवीय क्षति भएको भन्दै उचित क्षतिपूर्तिको माग स्थानीयले गरेकाे जनाइएको छ । स्थानीय रेशम खड्काका अनुसार सडकको ग्रेड नमिलेको, थोत्रा गाडी सञ्चालन गर्ने गरिएको र चालकको लापरवाहीले दुघर्टना भएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले राम्रोसँग सञ्चार सम्पर्क हुन नसक्दा स्थानीय किन आक्रोशित भएका हुन् यकिन हुन नसकेको बताउनुभयो । हालसम्म सबै मृतकका शव दुर्घटनास्थलमै रहेको र परिवार र स्थानीय जनप्रतिनिधिहरूसँग समन्वय गरी पोष्टमार्टम गरिनेसमेत प्रजिअ बरालको भनाइ छ ।
गाडी चालक गोरख बस्नेत भने दुर्घटनालगत्तै फरार भएकाे बताइएको छ । घटनास्थल सदरमुकाम खलङ्गादेखि २० कोस पश्चिममा पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *