लकडाउन खुकुलो पारिएका केही मुलुकमा कोरोनाको संक्रमण बढ्न थाल्योः डब्लुएचओ

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले शुक्रबार लकडाउन खोल्न सुरू गरिएका केही मुलुकमा कोरोना संक्रमित पुनः बढ्न थालेको जनाएको छ।

संक्रमण बढ्न थालेकाले उसले मानिसहरूलाई आफ्नो सुरक्षामा आफै ध्यान दिन भनेको छ। यसैगरी डब्लुएचओले सरकारहरूले कोरोना परीक्षण जारी राख्नुपर्ने पनि बताएको छ। संगठनकी प्रवक्ता मार्गरेट ह्यारिसले हाल मध्य, दक्षिण र उत्तर अमेरिका भाइरसको केन्द्रबिन्दु भएको बताएकी छन्।

हो, हामीले विश्वका केही मुलुकमा कोरोना बढिरहेको पाएका छौं। म युरोपको बारेमा मात्र भनिरहेको छैन। जब लकडाउन र सामाजिक दुरी खुकुलो हुन्छ तब मानिसहरूले यसलाई यो सकियो भनेर व्याख्या गर्नेछन्’,जेनेभाको संयूक्त राष्ट्रसंघलाई व्रिफिङ गर्दै उनले भनिन्।

‘यो सकिएको छैन। संसारबाट भाइरस निर्मूल नभएसम्म यो सकिएको ठान्नु हुँदैन’, उनले थपिन्।

उनले अमेरिकामा १० दिन देखि जर्ज फ्लोइडको हत्याको विरोधमा जारी प्रदर्शनलाई संकेत गर्दै प्रदर्शनकारीले सावधानी अपनाउनुपर्ने बताएकी छन्।

‘हामीले यो साता धेरै धैर्यता देख्यौं, हामीले मानिसहरूमा बाहिर निस्कनुपर्छ र आफ्नो भावना व्यक्त गर्नुपर्छ भन्ने देख्यौं’, उनले भनिन्, ‘हामी उनीहरूलाई आफू र अरूलाई जोगाउनुपर्छ भन्न चाहन्छौं।’

संक्रमण हुनबाट जोगिन डब्लुएचओले एक मिटरको दुरी कायम गर्न र पटकपटक हात धुन तथा हातले मुख, नाक र आँखा छुनबाट जोगिनुपर्ने सुझाव दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *